सय करोड क्लबमा साहिदको इन्ट्री, ‘पद्मावत’का रेकर्ड यस्ता !

सय करोड क्लबमा साहिदको इन्ट्री, ‘पद्मावत’का रेकर्ड यस्ता !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड सिनेमा ‘पद्मावत’ले भारत लगायत विश्वका थुप्रै देशमा आक्रामक कमाई गरिरहेको छ । संजयलीला भन्साली निर्देशित सिनेमा भारतीय बक्सअफिसमा चौथों दिनमै सय करोड क्लबमा समावेश भएको छ ।

रिलिजको चौथों दिन ३१ करोड कमाई गर्दै टोटल कलेक्सन १ सय १४ करोड पुर्याएको छ । सिनेमाले पहिलो दिन २४ करोड (पेड प्रिभ्यु ५ करोडसहित), दोस्रो दिन ३२ करोड र तेस्रो दिन २७ करोड कलेक्सन गरेको थियो । चार दिने विकेन्डको कमाईसँगै ‘पद्मावत’ २०१८ को पहिलो सय करोड कमाउने सिनेमा बनेको छ । सिनेमामा दीपिका पादुकोण, रणवीर सिंह र साहिद कपूरको मुख्य भूमिका छ ।

नर्थ अमेरिकाको ‘सिंगल डे कलेक्सन’मा रेकर्ड: नर्थ अमेरिकामा ‘पद्मावत’ ‘सिंगल डे’मा सर्वाधिक कलेक्सन गर्ने सिनेमा बनेको छ । यसको ‘सिंगल डे’ कलेक्सन १८ लाख ४१ हजार बढी अमेरिकी डलर छ । यसअघि नर्थ अमेरिकामा आमिर खानको ‘पिके’ले एक दिनमा १४ लाख १८ हजार बढी डलर कमाई गरेर रेकर्ड राखेको थियो । यसका अलावा अस्ट्रेलिया, न्युजिल्यान्ड, नेपाल, युके, फिजी लगायतका देशमा पनि सिनेमाको कलेक्सन उच्च छ ।

साहिदको सय करोड क्लबमा इन्ट्री: ‘पद्मावत’को विकेन्ड कलेक्सनसँगै साहिद कपूरको नाममा पहिलो पटक सय करोड क्लबमा सिनेमा इन्ट्री भएको छ । यसअघि ‘आर राजकुमार’ले साहिदको करियरमै सर्वाधिक कलेक्सन गरेको थियो । जसको भारतीय कलेक्सन ७० करोड माथि छ ।

भन्साली र रणवीरको ह्याट्रिक: निर्देशक संजयलीला भन्साली र अभिनेता रणवीर सिंहले सय करोड क्लबमा ह्याट्रिक गरेका छन् । यी दुईको पहिलो सहकार्य ‘रामलीला’ले पहिलो पटक सय करोड कमाएको थियो । त्यसयता ‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ पनि सय करोड क्लबमा समावेश भए । ह्याट्रिक सिनेमाहरुमा यी दुईसँगै दीपिका पादुकोणको पनि सहकार्य छ ।

दीपिकाको ७ औं सय करोड: अभिनेत्री दीपिका पादुकोणको करियरमा सय करोड कमाउने ‘पद्मावत’ सातौ सिनेमा बनेको छ । २०१३ मा ‘रेस २’ मार्फत दीपिकाले सय करोड क्लबमा इन्ट्री गरेकी थिइन् । त्यसै वर्ष प्रदर्शनमा आएका ‘ए जवानी हे दिवानी’, ‘चेन्नई एक्सप्रेस’ र ‘रामलीला’ले लगातार यस क्लबमा स्थान बनाएका थिए । त्यसयता ‘ह्याप्पी न्यु ईयर’ र ‘बाजिराव मस्तानी’ले पनि सय करोड माथिको व्यापार गरे ।