भारतका चर्चित निर्देशक सुभाष घई नेपाल आउने

भारतका चर्चित निर्देशक सुभाष घई नेपाल आउने

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – भारतीय सिनेमाका चर्चित निर्माता, निर्देशक तथा लेखक सुभाष घई बैशाखमा नेपाल आउने भएका छन् ।

हाल भारतमा रहेको कान्तिपुर फिल्म एकेडेमीको टोलिसँगको भेटमा उनले नेपाल आउने बचनबद्धता व्यक्त गरेका हुन् । एकेडेमीका सिइओ प्रकाश पुरीले भने ‘उहाँको सहयोगीले कुन मितिमा आउने भन्ने समय तोकेपछि नेपाल आउनुहुनेछ ।’

टोलीमा एकेडेमीका संचालक प्रकाश पुरी, एकेडेमिक निर्देशक नरेशकुमार केसी र फिल्म मेकिंग विधाका विद्यार्थीहरु अशिन पौडेल र बाबुराम राउत रहेका छन् । टोलीले सोमबार मुम्बईको प्रख्यात सिनेमा स्कुल विस्लिङ उड इन्टरनेशनलको भ्रमण गर्दै त्यहाँको विद्यार्थीहरुसहित त्यहाँ को टेक्नोलोजी को अध्यन गरेका थिए र त्यहाँका प्रमुखसमेत रहेका निर्देशक घई, अध्यक्ष मेघना घई पुरी र हेड अफ एकेडेमिक राहुल पुरीसँग भेट गरेको थियो ।

भेटमा दुई पक्षबीच विद्यार्थी आदानप्रदान, फ्याकल्टी आदानप्रदान, सिनेमा निर्माण सहकार्य, नेपालमा कार्यशालाको आयोजना गर्ने, वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्ने र घई नेपाल आउने बुँदामा सहमति भएको छ ।

टोलीको विस्लिङ उड सहित एफटिआइआइ, पुने र बालाजी टेलिफिल्मको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

को हुन् सुभाष घई ?: सन् १९७६ मा ‘कालिचरण’बाट निर्देशनमा डेब्यु गरेका सुभाषले यो भन्दा अगाडी सिनेमा ‘आराधना’मा छोटो भूमिका निर्वाह गरेका थिए । निर्देशनमै डेब्यु गर्नु भन्दा पहिले ‘तकदीर’, ‘उमंग’ र ‘गुमराह’जस्ता सिनेमामा समेत सुभाषले अभिनय गरे । ‘कालीचरण’सँगै सुभाषले लगातार १२ सिनेमा निर्देशन गरेका थिए । उसो त १९९१ मा सुभाषको निर्देशकीय सिनेमा ‘सौदागर’बाट नेपाली चेली तथा अभिनेत्री मनिषा कोइरालाले बलिउडमा डेब्यु गरेकी थिइन् । थुप्रै सिनेमा निर्देशन र निर्माण गरेका सुभाषका सम्झिनलायक सिनेमा ‘कालीचरण’, ‘कर्ज’, ‘हिरो’, ‘मेरी जंग’, ‘कर्म’, ‘रामलखन’, ‘सौदागर’, ‘खलनायक’, ‘प्रदेश’, ‘ताल’, ‘ब्ल्याक एण्ड ह्वाइट’ रहेका छन् ।