चर्चाको शिखरमा ‘शत्रु गते’ !

चर्चाको शिखरमा ‘शत्रु गते’ !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – ‘जात्रा’ निर्देशन गरेर माया र सफलता कमाएका निर्देशक प्रदीप भट्टराई दोस्रो सिनेमा ‘शत्रु गते’ मार्फत चैत ९ मा दर्शक माझ आउदैछन् । पहिलो सिनेमामा नयाँ कलाकारसँग काम गरेका भट्टराईलाई व्यापारिक सफलता पाउन ‘वर्ड अफ माउथ’ भर पर्नु पर्यो ।

तर, दोस्रो सिनेमासम्म आउँदा सुरुवाती चर्चा नै धेरै छ । ‘शत्रु गते’लाई यस वर्षकै आशाको रुपमा लिन सकिन्छ । सिनेमाले इनिसियल ओपनिङ राम्रो गर्ने संकेत देखाईसकेको छ । भने, ‘वर्ड अफ माउथ’ राम्रो भएको खण्डमा ‘शत्रु गते’ले केहि लाइफटाइम व्यापारिक रेकर्ड आफ्नो पक्षमा पार्न सक्छ ।
सिनेमाको स्टारकास्ट, गीत/संगीत र ब्राण्डले चर्चा मै रहेको सिनेमा, चर्चालाई कायममै राख्न प्रचारमा पनि उत्तिकै खटिएको छ । यसैक्रममा सिनेमाले आधादेश दौडाह पनि सुरु गरिसकेको छ ।

‘रुस्लान मह शत्रु गते यात्रा’ नाम दिएर फागुन २३ देखि सुरु भएको मोफसल टुर अब अन्तिम चरणमा पुगेको छ । ‘हेटौडाको बुद्द चोक, चितवनको नारायणी किनार, बुटवलको ट्राफिक चोक र पोखरामा विशाल जनसमुदाय माझ ‘शत्रु गते’ टिमले सांगीतिक कार्यक्रम सकाएर पुर्वका ठुला स्टेसनतर्फ हानिएको छ । सिनेमाका कार्यकारी निर्माता किरण केसीले अहिलेसम्मको टुर एकदमै सफलता पुर्वक सम्पन्न भएको जानकारी दिए ।

‘उनले भने ‘शत्रु गते’को प्रेसमिट र सांगीतिक कार्यक्रममा पत्रकार र दर्शकको उल्लेख्य साथ पाईरहेको छौ । अब चैत ९ देखि हलमा पनि दर्शकले दिने आशा छ ।’ अब टिमले पुर्वका बिर्तामोड, दमक र इटहरीमा क्रमस… २८,२९ र ३० गते कार्यक्रम तथा प्रेसमिट गर्नेछ । ३० गते इटहरीको कार्यक्रम सकिए लगतै टिम राजधानी फिर्नेछ ।

यस यात्रामा हरिबंश आचार्य, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्लेसहितको टिम रहेको छ । सिनेमामा वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यका अलावा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, शुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।

किरण केसी कार्यकारी निर्माता रहेको सिनेमाका निर्मातामा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य रहेका छन् । सिनेमामा टंक बुढाथोकी/कालीप्रसाद बाँस्कोटाको संगीत, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज/प्रविन सिंहको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र दिर्घ गुरुङ छायाँकन रहेको छ ।