‘टाइगर जिन्दा हे’का लागि ५ बक्सअफिस चुनौती !

‘टाइगर जिन्दा हे’का लागि ५ बक्सअफिस चुनौती !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – सलमान खान र कट्रिना कैफ स्टारर सिनेमा ‘टाइगर जिन्दा हे’ले घरेलु बक्सअफिसमा पहिलो दिन ३३.७५ करोड भारुको कारोबार गर्यो । यो वर्ष बलिउड सिनेमाको लागि यो नै पहिलो दिनको सर्वाधिक कलेक्सन हो । यसअघि ‘गोलमाल अगेन’ले ३०.१४ करोडको ओपनिङ गरेको थियो ।

हिन्दी भाषामै सर्वाधिक कलेक्सन भने ‘बाहुबली २’ले गर्यो । त्यसैले ‘टाइगर जिन्दा हे’ सर्वाधिक ओपनिङ गर्ने सिनेमाको दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । ‘बाहुबली २’ले हिन्दी भर्सनमा मात्र पहिलो दिन ४१ करोड कमाएको रेकर्ड छ । ‘बाहुबली २’ तामिल सिनेमा भएपनि यसको हिन्दी भर्सन कलेक्सन भने बलिउड बक्सअफिसको हिस्सामा आउँछ ।

अलि अब्बास जफर निर्देशित सिनेमाले समिक्षक र दर्शकबाट उम्दा प्रतिक्रिया पाईरहेको छ । सलमानले यसअघि ‘ट्युबलाईट’बाट दर्शक निरास बनाउनु पर्यो । तर, ‘टाइगर जिन्दा हे’लाई दर्शकले पूर्ण मनोरंजनको पैसा असुल सिनेमा भनिरहेका छन् । यसअर्थमा सिनेमाले आगामी दिनमा बक्सअफिसको लामो रेस तय गर्नेमा दुई मत छैन । राम्रो सिनेमा बनेकै कारण यसलाई सिने पण्डितहरुले लामो रेसको सिनेमा भनेका छन् । अब लामो रेसको सिनेमाको लागि केहि बक्सअफिस चुनौतीहरु छन् । जसलाई ‘टाइगर जिन्दा हे’ले छिचोल्न सक्छ ।

पहिलो दिनको सर्वाधिक कलेक्सन: दुर्भाग्यवस: सिनेमाले पहिलो दिन राम्रो व्यापार गरे पनि रेकर्ड तोड्न भने सकेन । बलिउडमा पहिलो दिन सर्वाधिक कलेक्सनको रेकर्ड शाहरुख खानको नाममा छ । २०१४ मा रिलिज भएको ‘ह्याप्पी न्यु ईयर’ले सुरुवाती दिनमै ४४.९७ करोडको रेकर्ड सेट गरेको छ । उसो त सलमानले आफ्नै सिनेमा ‘प्रेम रतन धन पायो’को रेकर्ड पनि तोड्न सकेनन् । २०१५ मा रिलिज भएको ‘प्रेम रतन धन पायो’ले पहिलो दिनमा ४० करोडको कलेक्सन गर्दै सलमानको सर्वाधिक कमाउने सिनेमा बनेको थियो ।

सप्ताहान्त सर्वाधिक कलेक्सन: भारतमा आइतबार साताको अन्त्य हुन्छ । त्यसैले बक्सअफिस सप्ताहान्तमा सिनेमा रिलिज भएको दिन देखि लिएर आइतबारे कलेक्सन सम्मको हिसाब निकालिन्छ । प्राय: शुक्रबार रिलिज हुने सिनेमाले ३ दिने सप्ताहान्त मनाउन पाउनछन् । कुनै-कुनै सिनेमा बुधबार र विहिबार पनि रिलिज हुने गर्दा ४ या ५ दिने सप्ताहान्तको पनि हिसाव हुने गर्दछ । तर, चलनचल्तीमा तिन दिने सप्ताहान्तलाई नै बढी प्राथमिकता दिईन्छ । ‘टाइगर जिन्दा हे’ शुक्रबार रिलिज भएकोले यसको चुनौती ‘बाहुबली २’सँग नै छ । ‘बाहुबली २’नै ३ दिने सप्ताहान्तमा सर्वाधिक कमाउने बलिउड हिस्सा हो । यसले तिन दिनमा १ सय २८ करोडको कलेक्सन गरेको थियो । अब हेर्न बाँकी छ ‘टाइगर जिन्दा हे’ले यो रेकर्ड छिचोल्न सक्छ नि सक्दैन ? उसो त ५ दिने सप्ताहान्तमा सर्वाधिक कमाउने सिनेमा सलमानकै ‘सुल्तान’ हो । यसले १ सय ८० करोड ३६ लाखको रेकर्ड सेट गरेको छ ।

सप्ताह सर्वाधिक कलेक्सन: यहाँ पनि सलमानको चुनौती ‘बाहुबली २’नै रहेको छ । ‘बाहुबली २’को हिन्दी भर्सनले पहिलो साता २ सय ४७ करोडको कारोबार गरेको थियो । हेरौ ‘टाइगर जिन्दा हे’ पहिलो साता कहाँ सम्म पुग्नेछ ।

लाइफटाइम सर्वाधिक कलेक्सन: बलिउड बक्सअफिसमा सर्वाधिक कमाउने सिनेमाको पहिलो नम्बरमा पनि ‘बाहुबली २’नै छ । यसले हिन्दी भर्सनमा मात्र लाइफटाइम ५ सय ११ करोड बढी कमायो । बलिउड सिनेमाको कुरा गर्दा लाइफटाइममा सर्वाधिक कमाउने सिनेमा भने ‘दंगल’ हो । यसले ३ सय ८७ करोड माथिको कलेक्सन गरेको थियो । तर, यो बलिउड बक्सअफिसको दोस्रो स्थानमा छ । अब यो माइलस्टोन ‘टाइगर जिन्दा हे’को लागि अझ चुनौतीपूर्ण छ ।

सलमानकै सर्वाधिक ‘लाइफटाइम’: सलमानको करियरमा सर्वाधिक कमाउने सिनेमा ‘बजरंगी भाइजान’ हो । २०१५ मै रिलिज भएको यो सिनेमा ३ सय २० करोड माथिको व्यापार गरेको थियो । यो रेकर्ड तोडे मात्र सलमानका लागि ‘दंगल’ र ‘बाहुबली २’को रेकर्ड तोड्ने बाटो खुल्नेछन् ।