‘रणवीर’ घोषणा: सुशील हिरो, प्रशान्त भिलेन !

‘रणवीर’ घोषणा: सुशील हिरो, प्रशान्त भिलेन !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘रणवीर’ घोषणा गरिएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर छायाँकनमा जाने सिनेमाको आइतबार एक कार्यक्रमका विच जानकारी दिइयो ।

एक्सन, कमेडी र रोमान्सको समिश्रण रहने सिनेमालाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्नेछन् । साउथका केहि सिनेमासमेत गरिसकेका भण्डारीले नै ‘रणवीर’को कथा लेखेका हुन् ।

 

“रणवीर एक शिक्षित र जाँगरिलो युवक हो । उसको जीवनमा आउने उतार-चढाव र संघर्षनै सिनेमाको कथा हो । जुन भूमिका सुशील सिटौलाले निर्वाह गर्नेछन् ।’ निर्देशक भण्डारीले भने । सिनेमामा सुशीलले नै शतप्रतिशत न्याय गर्न सक्ने भएकोले मुख्य भूमिकामा अनुबन्ध गरिएको निर्देशकले बताए ।

सिनेमामा शुशीलको अपोजिट सुवेक्षा खड्का रहनेछिन् । उनि सन् २०१२ की ‘मिस इन्टरनेसनल’समेत हुन् । पहिलो पटक सिनेमामा अभिनय गर्न लागेकी सुवेक्षाले भनिन् ‘पहिले त सिनेमा गर्नु हुदैन भन्ने लाग्थ्यो । त्यसैले कति सिनेमाको अफर पनि अस्वीकार गरे । अहिले फस्टाउदै गरेको सिनेमा क्षेत्र र ‘रणवीर’को स्क्रिप्टले आकर्षण गर्यो । अब यहिँ क्षेत्रलाई ‘प्रोफेसन’ बनाएर अगाडी बढ्नेछु ।’

सिनेमामा सुशील र सुवेक्षाका अलावा सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहारी, रवी गिरी, नरेश पौड्याल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिस रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंहको पनि अभिनय रहनेछ । प्रशान्त ताम्राकार, टिका पहारी, रवी गिरी र नरेश पौड्याल ‘रणवीर’मा खलपात्रको भूमिकामा रहनेछन ।

गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीको २ करोड लगानीमा बन्ने सिनेमाको लागि ४५ दिनको छायाँकन सेड्युल छुट्टयाइएको छ । महेश पौडेलको छायाँकन रहने सिनेमालाई डडेलधुरा, महेन्द्रनगर, धनगढी र काठमाडौँमा खिचिनेछ ।

हर्कुलस बस्नेत/शुशान्त गौतम/अमित श्रेष्ठको संगीत रहने ‘रणवीर’मा गम्भीर विष्ट/सुरेन बसेलको कोरियोग्राफी र चन्द्र पन्तको एक्सन रहनेछ ।