तराईका दश जिल्लामा ‘राज्जा रानी’ घुम्ने !

तराईका दश जिल्लामा ‘राज्जा रानी’ घुम्ने !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – तराईका केहि जिल्लामा अझै पनि यथावत दाइजो प्रथाको कथामा निर्मित सिनेमा ‘राज्जा रानी’ हलको पहुँचबाट टाढा रहेका दर्शक माझ देखाइने भएको छ ।

शुक्रबार राजधानीमा एक प्रेसमिट गर्दै निर्माण पक्षले प्रदेश नम्बर १ र २ का दश जिल्लामा घुम्ती सिनेमा संचालन गर्न लागेको जानकारी दियो । पुष २१ गते अलनेपाल प्रदर्शनमा आएको सिनेमा पहिलो पटक मैथिलीमा पनि डब गरिएको छ । सिनेमाका निर्माता एवं भोर कम्पनिका अध्यक्ष राजकुमार महतोले सिनेमाको प्रदर्शन सेड्युलबारे बताए ।

जसअन्तर्गत मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाका ६ देखि ८ स्थानमा सिनेमा प्रदर्शन गरिनेछ । जहाँ १ ठाउँमा ३ देखि ५ शोजसम्म ‘राज्जा रानी’ देखाइने छ । सिनेमा हेर्नको लागि जम्मा ५० रुपैयाँ टिकेटको तोकिएको छ । फागुन २६ गते सप्तरीको तिरहुतस्थित लोह्जुरा गाउँबाट सुरु हुने अभियानमा १ लाख २० हजार दर्शकलाई सिनेमा देखाउने निर्माण पक्षको लक्ष्य रहेको छ । अभियानको उद्दघाटन प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवकिशोर शाहको प्रमुख आतिथ्यमा हुनेछ ।

सिनेमा प्रदर्शनको लागि १० फिट ८ फिट प्रोजेक्टरको पर्दा, ४ हजार लुमेन्स फुल एचडी प्रोजेक्टर र दुई वटा हाई भलुमको सौन्द सिस्टमको प्रयोग गरिने बताइएको छ । नेपालमै सम्भवत: पहिलो पटक गर्न लागिएको घुम्ती सिनेमा संचालनले नेपाली सिनेमाको बिकासमा सकारात्मक भूमिका खेल्ने निर्माता महतोले विश्वास व्यक्त गरे ।

 राज्जा रानीका निर्देशक एवम् स्क्रिप्ट राइटर यम थापाले घुम्ती सिनेमा अभियानमार्फत अझै पनि दाइजोको समस्या नहटेका गाउँहरुमा सिनेमाले जनचेतना फैलाउन मद्दत पुग्नेमा आशावादी सुनिए ।

 यस सिनेमाको मैथिली भर्सनको निर्माण पक्ष भोर कम्पनीले राज्जा रानीमैथिली सिनेमाको पुरै मुनाफा सामाजिक काममा खर्चिने यसअघि नै घोषणा गरिसकेको छ । घुम्ती सिनेमाबाट उठेको पैसा पनि सामाजिक काममै खर्चिन कार्यक्रममा जानकारी दिइयो । भोर बालविवाह र दाइजोप्रथा विरुद्ध काम गर्दै आएको संस्था हो ।

यस सिनेमामा केकी अधिकारी, नाजिर हुसेन र कामेश्वर चौरसियाले मुख्य भूमिका निर्वाह गरेका छन् ।