दुई दिनमा कति कमायो ‘पिंजडा ब्याक अगेन’ले ?

दुई दिनमा कति कमायो ‘पिंजडा ब्याक अगेन’ले ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘पिंजडा ब्याक अगेन’ले दुई दिनमा औसत व्यापार गरेको छ ।

दुई दिनमा देशभरबाट ६६ लाख ग्रस कलेक्सन गरेको वितरक गोपाल कायस्थले द सिनेमा टाइम्सलाई बताए । सिनेमाले शुक्रबार राजधानीबाट १२ लाख र शनिबार २६ लाख कलेक्सन गर्यो । त्यस्तै दुई दिनमा राजधानी बाहिर सिनेमाको कलेक्सन २८ लाख छ । मोफसलमा विहिबारै रिलिज भएको सिनेमाको उक्त दिनको रिपोर्ट समेटिएको छैन ।

पारिवारिक कथामा निर्मित सिनेमामा एक्सन स्टार निखिलको भरपुर एक्सन देख्न पाईनेछ । दर्शकले निखिलको एक्सन र साराको अभिनय रुचाएका छन् । फेमिली एक्सन ड्रामामा निखिल र साराका अलावा ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराइसँगै केहि दिन पहिले मात्रै दिवंगत भएकी विना थापाको मुख्य भुमिका छ ।

द्वन्द निर्देशक हिमाल केसीले पहिलो पटक ‘पिंजडा ब्याक अगेन’ निर्देशन गरेका हुन् । श्रीराम बरालको प्रस्तुती तथा रोहित पुरी र गोविन्द गैरेको निर्माणमा बनेको सिनेमाको कथा मौनता श्रेष्ठले लेखेका हुन् । सिनेमामा राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत छ ।