पद्मावत: पहिलो साताको कमाई कति ? द सिनेमा टाइम्स, काठमाडौँ – विवाद र विरोधका वावजुत रिलिज भएको बलिउड सिनेमा ‘पद्मावत’ पहिलो साता बक्सअफिसमा पावरफुल देखिएको छ । बुधबार नै रिलिज भएको सिनेमाले भारतमा मात्र १ सय ६६ करोड माथिको कलेक्सन गर्न सफल भएको छ । आठौँ दिनमा सिनेमाको कलेक्सन ११ करोड छ । यो साता बलिउडका ठुला सिनेमा रिलिज नहुँदा र ‘वर्ड अफ माउथ’ बलियो हुँदा सिनेमाले दोस्रो विकेन्डमै २ सय करोडको आँकडा छुने सम्भावना प्रवल छ । २ सय करोडको भारी बजेटमा निर्माण भएको सिनेमालाई संजयलीला भन्सालीले निर्देशन गरेका हुन् । भारतका चार राज्यमा प्रतिबन्धित सिनेमा यो साताबाट गुजरातमा प्रदर्शन हुदैछ । चार राज्यको प्रतिबन्धले सिनेमालाई पहिलो साता ५० करोड घाटा लागेको बलिउड ट्रेड एनलिस्टको निष्कर्ष छ । सिनेमाले पहिलो साता विदेशबाट करिब ८० करोड कलेक्सन गर्न पनि सफल भएको छ । राजपुतनकी रानी ‘पद्मिनी’को कथामा निर्मित सिनेमामा दीपिका पादुकोण, रणवीर सिंह र साहिद कपूरको मुख्य भूमिका छ ।