पुराना सिनेमालाई डिजीटाइजेशन गरि प्रदर्शन गरिने

पुराना सिनेमालाई डिजीटाइजेशन गरि प्रदर्शन गरिने

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमाको ५० वर्ष पुरा भएको अवसरमा चलचित्र बिकास बोर्डले पुराना सिनेमालाई डिजीटाइजेशन गर्ने भएको छ ।

बोर्ड अध्यक्ष निकिता पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो योजना अन्तर्गत एकदमै पुराना १२ सिनेमा डिजीटाइजेशन हुनेछन् । डिजीटाइजेशन भनेको रिलद्वारा बनेका पुराना सिनेमालाई नयाँ डिजिटल प्रविधिमा रुपान्तरण गरि संरक्षण गर्ने विधि हो । यो तरिकामा पुराना सिनेमालाई आधुनिक प्रविधि मार्फत हेर्न सकिनेछ ।

समितिले पुराना हुने जति सिनेमालाई क्रमश… डिजीटाइजेशन गर्दै लैजाने योजनासमेत बनाएको छ । १६ एमएम र ३५ एमएमका सिनेमालाई डिजीटाइजेशन मार्फत २ के र ४ केमा रुपान्तरण गर्न सकिनेछ । साथै, नेपाली सिनेमाको गौरवमय इतिहासलाई आम सर्वसाधारणसम्म पुर्याउन सिनेमा संग्राहलयको पनि स्थापना गर्ने प्रक्रिया थालनी गरेको बिकास बोर्डले बताएको छ ।

आगामी असार १६ गते चलचित्र बिकास बोर्डको वार्षिकोत्सवमा फिल्म फेस्टिभल गरि डिजीटाइजेशन गरिएका १२ सिनेमा प्रदर्शन गरिनेसमेत बोर्डले बतायो । नेपाली सिनेमा ५० वर्षको पुगेको स्वर्णकालको उपलक्ष्यमा १२ सिनेमालाई साताव्यापी रुपमा प्रदर्शन गर्न लागिएको हो ।

नेपाली सिनेमाको इतिहासमा ‘आमा’ पहिलो सिनेमा हो । ‘आमा’सँगै फेस्टिभलमा ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दुर’, ‘परालको आगो’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजो आज भोलि’, ‘विश्वास’ र ‘शान्तिदीप’लाई डिजीटाइजेशन गरि प्रदर्शन गरिनेछ ।

निकिता पौडेलको कार्यकालमा हुन् लागेको यस्तो कामप्रति सिनेमा क्षेत्रका सम्पूर्ण व्यक्तित्वहरुले प्रशंसा गरेका छन् । यो कार्य नेपाली सिनेमाको इतिहाँसमै पहिलो पटक गरिन लागेको हो ।

पौडेलकै कार्यकालमा लामो समयदेखि चर्चा र बहसको विषय रहेको बक्सअफिस सिस्टमको पनि उद्घाटन भैसकको छ । बक्सअफिस सिस्टम, पुराना सिनेमा डिजीटाइजेशन, सिनेमा संग्राहलयको प्रकिया र फेस्टिभलजस्ता योजनाहरु कार्यन्वयन गर्न सफल भएकोले निकिताको कार्यकाललाई चासोको रुपमा हेरिएको छ । अहिले सबै सिनेकर्मीले यो कार्यकालमा सिनेमा क्षेत्रले ठुलो फड्को मार्ने अनुमान गर्न थालिसकेका छन् ।