‘मिस्टर झोले’ सफलताको तेस्रो सातामा प्रवेश

‘मिस्टर झोले’ सफलताको तेस्रो सातामा प्रवेश

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – पुष २८ गते रिलिज भएको सिनेमा ‘मिस्टर झोले’ यो साताबाट सफलताको तेस्रो सातामा प्रवेश गरेको छ । पहिलो सातानै सिनेमाले लगानी रिकभर गरिसकेको थियो ।

यो साता नेपाली हलहरुमा बलिउडको ‘पद्मावत’ मात्र रिलिज हुँदा त्यसको प्रत्यक्ष फाईदा ‘मिस्टर झोले’लाई पुगेको छ । ‘पद्मावत’ले देशका अधिकाँस हल र सोज कब्जा गर्दा बाँकी रहेका पर्दामा ‘मिस्टर झोले’ एकल छ । पछिल्लो समय रिलिज भएका नेपाली सिनेमा एक साता पनि मल्टीप्लेक्समा टिक्न सकेका छैनन् । तर, ‘मिस्टर झोले’लाई अधिकाँस मल्टीप्लेक्सले तेस्रो सातामा पनि सोज दिएका छन् । जहाँ दर्शक सङ्ख्या राम्रो रहेको निर्माताद्वय टेकेन खड्का र रौनक विक्रम कडेलले जानकारी दिए ।

रामबाबु गुरुङ निर्देशित सिनेमाले कास्की जिल्लामा अवस्थित एक गाउँको कथालाई कमेडी मार्फत प्रस्तुत गरेको छ । ‘मिस्टर झोले’मा दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्दी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ ।

सिनेमा हेरेका दर्शकले कमेडी पाटो र कलाकारको अभिनयलाई औधि रुचाएका छन् । दुई घण्टा सिनेमा हेर्दा ‘मिस्टर झोले’ले पूर्ण रुपमा मनोरञ्जन दिने दर्शकहरुको प्रतिक्रिया छ ।

रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।