“मिस्टर झोलेबाट सन्तुष्ट छु”


काठमाडौँ — भ्यात्त पेट निस्केका, मंगोलियन अनुहारका दयाहाङ राईलाई ‘लुट’ बाट निर्देशक निश्चल बस्नेतले गोप्ले चरित्रमार्फत आम चिनारी दिए । अझ अघि बढेर निर्देशक रामबाबु गुरुङले त दयाहाङलाई काजीको भूमिकामा ‘कबड्डी’ को हिरो नै बनाइदिए ।

 त्यति मात्रै हैन, रामबाबुले राज्यबाट समेत उपेक्षित हिमाली समाजको कथालाई मौलिकपना दिएर सहरिया दर्शकमाझ बिकाए । अर्गानिक फिल्म मेकरको टयाग पनि भिर्न पाए । तिनै रामबाबु यति बेला फेरि आफ्ना विश्वासिला दुई हतियार दयाहाङ र हिमाली कथा नै बोकेर दर्शकमाझ आएका छन्, ‘मिस्टर झोले’ मार्फत ।
पछिल्लो फिल्म ‘पुरानो डुंगा’ बाट गतिलो कथालाई बिगारेको आरोप खेपेका रामबाबुलाई यति बेला ‘मिस्टर झोले’ बाट कस्तो आशा होला त ? ‘दर्शकबाट गाली नै खानुपर्ने वा फिल्मले व्यापार नै नगरेको अवस्था आएको भए पनि म ‘मिस्टर झोले’ बनाएर पूर्ण सन्तुष्ट छु । बनाउन खोजेको जस्तो फिल्म आएको छ,’ रामबाबुले आफ्नै बचाउमा बोले, ‘२०/२५ वर्षदेखिको लामो राजनैतिक अस्थिरताले गाउँ, समाजका अधिकांश मान्छे ढुलमुले जीवन बाँचिरहेका छन् । तिनै विविध चरित्रहरूको कथा भनौं भन्ने मलाई लागेको थियो । त्यसलाई अलि रोचक चरित्रहरूमार्फत कथालाई रमाइलो ढंगबाट भन्न खोजेको हुँ । त्यो ‘मिस्टर झोले’ मा आएको छ जस्तो लाग्छ । पात्रहरू एकदमै सिरियस पनि छैनन् र एकदमै फन्नी पनि छैनन् । एकाध ठाउँबाहेक मलाई फिल्म फ्लोमै छ भन्ने लाग्छ ।’ तर फिल्म हेरेका कतिपयले भने रामबाबुमा ‘कबड्डी’ हयाङ अझै उत्रन नसकेको टिप्पणी पनि गर्छन् । ‘लोकल स्टोरीलाई कमेडी जानरामा भन्दा त्यस्तो भास्ट डिफरेन्स ल्याउन गाह्रो हुन्छ । धेरै अप्सन पनि हुँदैन,’ उनको भने आफ्नै तर्क रहेछ । तर यस पटक पनि दयाहाङ अभिनीत पूर्णेसहितका गाउँका सबै अल्लारे केटाकेटी बिहेकै घनचक्करमा फसिरहेका छन्, ‘कबड्डी’ मा जस्तै । किन त ? रामबाबु भने यसलाई गाउँको रियालिटी ठान्दा रहेछन् । थपे, ‘पात्रहरूलाई दु:ख छ र पनि त्यसलाई इन्जोयगर्ने ढंग छ । फिजिकल दु:खलाई मेन्टल्ली इन्जोय गर्छन् ।’
यस पटक दयाहाङ गाउँकै सुवेदारकी छोरी सानुमैयाको वरिपरि घुमेका छन् । सानुमैयाको भूमिकामा रहेकी दिया पुनले भने सुटिङ अवधिमा धेरै समय नर्भस भएको सुनाइन् । ‘म अझै सिक्दै छु । नयाँ छु,’ ‘वीर विक्रम’ डेब्यु गर्ल दियाले कारण सुनाइन्, ‘मेरो कारणले टिमलाई असर नहोस्, धेरै टेक खान नपरोस् भन्ने कुरामा म सुटिङदेखि नै नर्भस थिएँ ।’ तर रामबाबुले दियाको कुरा काटे, ‘सबभन्दा कम टेक खाने नै उही होला । ऊ हामीले सोचेभन्दा पनि ज्यादा अनुशासनमा रहेर काम गथ्र्याे । सेटमा एकदमै सिन्सियर छ ।’ दयाहाङसँग दोस्रो पटक स्क्रिन सेयर गरेकी दियाले कोएक्टरबारे भने यसो भन्छिन्, ‘दयाहाङ इजी गोइङ हुनुहुन्छ । सिनियर भईकन पनि मै हुँ भन्ने स्वभावको हुनु हुँदैन । उहाँ जस्तो ग्राउन्डेड र हम्बल मान्छे अहिलेसम्म नेपालमा देखेको छैन । यत्रो हाइट क्रिएट गरिसकेको एक्टर भईकन पनि एक प्रतिशत पनि घमण्ड छैन ।’ छेवैमा बसेका दयाहाङ पनि के कम ? दियाको पनि प्रशंसा गर्न कस्सिए, ‘उसमा मिहिनेत छ । उसलाई अभिनयका लागि लामो दौडको घोडा भन्न सकिन्छ ।’
दयाहाङलाई रामबाबुले जहिल्यै केटीको पछि कुदाइरहे । रिपिटेसन भयोजस्तो लाग्दो होला कि नहोला उनलाई ? ‘जुन कुरा हामीबीच रहन्न त्यसपछि रिपिटेसन लाग्ने हो । रियालिटीमा जुन कुरा रहन्न, त्यसपछि पनि त्यही काम गरिरहनुपर्‍यो भने दोहोरियोजस्तो लाग्छ,’ दयाहाङले भूमिका बुन्दै चुरो बोले, ‘अझै पनि हामीमा एउटी केटी बाटोमा हिँडदा परसम्म मुन्टो बटारेर हेर्ने बानी गएको छैन । सिटी बजाएर वा खोकेर राम्री केटीलाई जिस्काउने हाम्रो बानी अझै गएको छैन । रामबाबुले जन्माएको यो चरित्र हामी आम युवाहरूको स्वभाव हो । यसले मलाई गजब अनुभव दिन्छ र पात्रमा त्यही अनुरूप रियाक्ट गर्छु ।’ र, दयाहाङले ‘मिस्टर झोले’ हेरेर इन्जोय गरे रे । भन्छन्, ‘जुन मान्छेहरू आफ्नो पीडासँग आफैं रमाइलो गर्छन्, उनीहरूलाई आफ्नो कुराहरू हेर्दारमाइलो लाग्छ ।’
रामबाबु बढी रियालिस्टिक फिल्म बनाउन खोज्छन् । कतिपयहरू फिल्मलाई लार्जर दयान लाइफ पनि मान्छन् । उनलाई कहिलेकाहीं अलि फिल्मी नै बनाऊ भन्ने लाग्दैन होला ? रामबाबु एकछिन् सोचे । अनि बोले, ‘लाग्छ । एउटा सर्जकलाई ठूलो क्यानभासमा, ठूलो डिजाइनमा सृजनशील काम गरूँ भन्ने लोभ हुन्छ । तर मभित्रको म्याचुरिटी मलाई थाहा हुन्छ । आफूले आफूलाई त कम्तीमा इमानदार भएर मूल्यांकन गरिन्छ नि । त्यो हिसाबले अझ बढी चुनौतीहरू छ । अहिले मलाई जुन चिजमा बढी कन्फिडेन्ट लाग्छ, त्यसैमा फोकस भइरहेको छु । कन्फिडेन्ट नपलाएकैले लार्जर दयान लाइफ खालको स्टोरी डिजाइन गरेको छैन । तर भावी योजनामा त्यो कुरा छ ।’
रामबाबुलाई एउटा आरोप छ, दृश्य रमाइलो बनाउने तर फिल्मको प्याकेजिङमा चाहिँ चुक्ने । ‘त्यो त सीधै देखिन्छ,’ उनले दायाँबायाँ नगरी आरोप स्विकार्दै थप बोले, ‘खासमा पटकथा लेखनमा मिहिनेत कम भएकोले हो । दृश्य थप राम्रो बनाउनमा एक्टरको पर्फमेन्सको कुरा पनि आउँछ । एक सिनबाट अर्को सिनमा जान वा प्लट क्रिएट गर्न जति सहज हुन्छ, सबै सिन र प्लटलाई कनेक्ट गर्न थप दिमाग लगाउनुपर्छ । थप एक्सरसाइज गर्नुपर्ने हुन्छ । त्यो लेभलसम्म मेरो मिहिनेत नपुगेको हो । मेरो कमजोरी भनेको म अलि बढी अल्छी छु । र, त्यसको नतिजाहरू भोगिरहेको पनि छु ।’
साभार [कान्तिपुर] =   सुशील पौडेल