फेसबुकमा सर्वाधिक फ्यान भएका १० सिनेकर्मी द सिनेमा टाइम्स, काठमाडौँ – आधुनिक युगमा सेलेब्रेटीका लागि इन्टरनेट अपरिहार्य छ । त्यसैमा सामाजिक संजालले सेलेब्रेटीलाई फ्यानसँग क्रिया/अन्तरक्रिया गर्न अझ सहज बनाउछ । पछिल्लो समय सेलेब्रेटीका लागि सामाजिक संजाल स्टारडम नाप्ने एउटा तरिका पनि बनिदिएको छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता संजालको फ्लोअर्सबाट सेलेब्रेटीको लोकप्रियता पनि मापन गर्न सकिन्छ । आज हामि फेसबुकमा सर्वाधिक फ्यान कमाएका १० नेपाली सिने सेलेब्रेटीको बारेमा जानकारी दिनेछौ । हामीले तयार गरेको टप १० को सुचिमा ४ अभिनेत्री, ३ गायक, २ अभिनेता र १ गायिका अटाएका छन् । १) रेखा थापा: नेपाली सिनेमामा सर्वाधिक समय राज गरेकी रेखा थापा नेपालकै फेसबुकमा सर्वाधिक फ्यान भएको सेलेब्रेटी हुन् । फेसबुकमा रेखाको अफिसियल पेजलाई लाइक गर्नेको संख्या ३२ लाख ९८ हजार ७ सय ४५ छन् । फेसबुकमा रेखालाई अहिलेसम्म कुनै पनि सेलेब्सले पछाडी पार्न सकेका छैनन् । २) उदितनारायण झा: कुनै बेला नेपाली पार्श्वगायनमा एकछत्र राज गरेका उदितनारायण झाको लोकप्रियता नेपाल, भारतसँगै अन्य देशमा पनि छ । अहिले पनि नेपाली फाट्टफुट्ट गीत गाउने गरेका उदितलाई फेसबुकमा लाइक गर्नेको संख्या २६ लाख १७ हजार ५ सय २८ रहेको छ । ३) प्रियंका कार्की: अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्री प्रियंका कार्की फेसबुकमा सर्वाधिक लाइक पाउने सिनेसेलेब्सको तेस्रो स्थानमा छिन् । प्रियंकाका फेसबुक फ्यान २१ लाख ८९ हजार ७ सय ९ छन् । ४) अन्जु पन्त: नेपाली पार्श्वगायिका अन्जु पन्त नेपालकै सर्वाधिक लाइक पाउने गायिका हुन् । आधुनिक, क्लासिकल र सिनेमाका गीतहरुमा एक दशक अगाडीदेखि राज गरिरहेकी अन्जु पन्तका फेसबुक ‘लाइकर’ २१ लाख ७९ हजार ६ सय ९० रहेका छन् । ५) नम्रता श्रेष्ठ: नेपाली सिनेमाकी चर्चित अभिनेत्री नम्रता श्रेष्ठ फेसबुकमा सर्वाधिक लाइक पाउने चौथों सिनेकर्मी हुन् । पछिल्लो समय सिनेमामा खासै नदेखिएकी नम्रताका फेसबुक फ्यान १५ लाख ५१ हजार ८ सय ४७ छन् । ६) केकी अधिकारी: अभिनयमा पोख्त अभिनेत्री केकी अधिकारी यो सुचीको पाँचौ स्थानमा छिन् । केकीलाई फेसबुकमा फ्लो गर्नेको संख्या ८ लाख ५२ हजार ८ सय ८३ छ । ७) राजेश पायल राई: पार्श्वगायनका बादशाह राजेशपायल राई नेपालकै फेसबुकमा सर्वाधिक लाइक पाउने दोस्रो गायक हुन् । राजेश पायलको फेसबुकमा फ्लो गर्नेको संख्या ६ लाख ७ सय ९७ रहेको छ । ८) जीवन लुइँटेल: सिनेसेलेब्स मध्ये फेसबुकमा सर्वाधिक लाइक पाउने अभिनेता जीवन लुइँटेल हुन् । उनको भेरिफाइड भएको फेसबुक पेजमा ४ लाख ९४ हजार ६ सय २९ लाइक छ । कुनै समयका व्यस्त अभिनेतामा गनिने जीवन अहिले नेपाली सिनेमाबाट गुमनाम छन् । ९) प्रमोद खरेल: आधुनिकसँगै पार्श्वगायनमा पनि प्रमोदले उत्तिकै चर्चा र लोकप्रियता कमाएका छन् । प्रमोदको भेरिफाइड पेजमा ४ लाख ५८ हजार ९३ लाइक छ । १०) राजबल्लभ कोइराला: नेपाली सिनेमाबाट ब्रेक लिएपनि राजबल्लभ यो सुचीको दशौँ स्थानमा अटाएका छन् । राजबल्लभ नेपालको भेरिफाइड फेसबुक हुने पहिलो अभिनेतासमेत हुन् । हाल अमेरिकामा रहेका राजबल्लभलाई फेसबुकमा लाइक गर्नेको संख्या ३ लाख ७१ हजार १ सय २४ छ । नोट: यो सुचीमा भेरिफाइड नभएका अकाउन्टहरु समावेश गरिएको छैन । साथै, भेरिफाइड अकाउन्ट मध्ये सर्वाधिक लाइक पाउने टप १० मात्र समावेश गरिएका छन् । यसमा सिनेमा क्षेत्रसँग आवद्द व्यक्तित्वहरुलाई मात्र समावेश गरिएको छ । फोटो: सम्वन्धित व्यक्तिको फेसबुक पेजबाट