इन्टु मिन्टू लन्डनमा गीत: सुहायो साम्राज्ञी र धिरजको केमेस्ट्री !

इन्टु मिन्टू लन्डनमा गीत: सुहायो साम्राज्ञी र धिरजको केमेस्ट्री !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – कोरियोग्राफर रेनशा वान्तवा राईको डेब्यु निर्देशन ‘इन्टु मिन्टू लण्डनमा’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘थाहै भएन…’ बोलको रिलिकल अडियो (भिडियो)मा स्वप्न सुमनको शब्द/संगीत र स्वर समावेश छ ।

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरका रोमान्टिक तस्विरहरु प्रस्तुत गरिएको छ । तस्विरमा हेर्दा पहिलो पटक स्क्रिन शेयर गरेका साम्राज्ञी र धिरजको जोडी सुहाएको छ ।

प्रदर्शन मिति तय भैनसकेको सिनेमाको नेपाल छायाँकन सकिएको छ । भने, युके छायाँकनको दोस्रो तालिका बाँकी छ । बसन्त ऋतुको अवसर पारेर चैत/बैशाखमा सिनेमाको दोस्रो चरण छायाँकन गरिने निर्माण टिमले बताएको छ । पहिलो चरण अन्तर्गत सिनेमाले डिसेम्बरमा युकेका ‘फेस्टिभ सिन’हरु खिचेर विश्राम लिएको थियो ।

प्रज्ज्वल समशेर जबरा र रेनषाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजका अलावा सरुक ताम्राकारको पनि मुख्य भूमिका छ । यसै वर्ष प्रदर्शनमा आएको ‘रानी’बाट सरुकले अभिनयमा डेब्यु गरेका थिए । आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनषा रहेका छन् । भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको ‘इन्टु मिन्टु लण्डनमा’मा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।