‘पिंजडा ब्याक अगेन’ र ‘लालपुर्जा’, कुन हेर्ने तपाई ?

‘पिंजडा ब्याक अगेन’ र ‘लालपुर्जा’, कुन हेर्ने तपाई ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – यो शुक्रबारबाट दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । विहिबार मोफसलबाट प्रदर्शन थालेको ‘पिंजडा ब्याक अगेन’ र ‘लालपुर्जा’ यो साताका नेपाली प्रतिस्प्रधी सिनेमा हुन् । नेपाली हलमा विदेशी कुनै पनि सिनेमा प्रदर्शन नहुँदा यो साता यी दुई सिनेमालाई फाईदा पुगेको छ । तर, यो मौकामा चौका हान्न कत्तिको सक्नेछन् ?, त्यो त एक साता मै थाहा हुनेछ ।

पिंजडा ब्याक अगेन: द्वन्द निर्देशक हिमाल केसी निर्देशित सिनेमाले बुधबार गरिएको प्रिमियरबाट मिश्रीत प्रतिक्रिया पाएको छ । सिंगल स्क्रिन लक्षित सिनेमाले अपेक्षित स्क्रिनमा राम्रो व्यापार गर्न सक्ने आँकलन गरिएको छ । प्रिमियरमा निखिल उप्रेतीको एक्सन र सारा सिर्पालीको अभिनय रुचाइएको थियो ।

पारिवारिक कथामा निर्मित सिनेमामा एक्सन स्टार निखिलको भरपुर एक्सन देख्न पाईनेछ । फेमिली एक्सन ड्रामामा निखिल उप्रेती, सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराइसँगै केहि दिन पहिले मात्रै दिवंगत भएकी विना थापाको मुख्य भुमिका छ ।

श्रीराम बरालको प्रस्तुती तथा रोहित पुरी र गोविन्द गैरेको निर्माणमा बनेको सिनेमाको कथा मौनता श्रेष्ठले लेखेका हुन् । सिनेमामा राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत छ ।

लालपुर्जा: ‘छड्के’ पश्चात निर्देशनमा फर्किएका निगम श्रेष्ठ निर्देशित सिनेमा मिस्टिक कमेडी जानरामा निर्माण भएको हो । विहिबार राजधानीमा गरिएको प्रिमियरबाट यो सिनेमाले पनि मिश्रीत प्रतिक्रिया पाएको छ । सिनेमाको मेरुदण्ड यसको जम्बो कलाकार टोली हो । सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरसिया, मेनुका प्रधान, मिरुना मगर, मिश्री थापा, कुमार नगरकोटी, हरिहर शर्माले मुख्य भूमिका निर्वाह गरेको सिनेमामा यी कलाकारहरुले उम्दा काम गरेका छन् ।

मल्टीप्लेक्स लक्षित सिनेमाले दोस्रो साताको ‘मिस्टर झोले’सँग बक्सअफिसमा लडाई गर्नु पर्नेछ । नेगेटिभ बुद्धको व्यानरमा निर्मित सिनेमामा बिक्रमसिंह थारु/उमेश श्रेष्ठको लगानी, लोकेश बज्राचार्यको सम्पादन र नरेन्द्र मैनालीको छायाँकन छ ।