‘धनपति’ले दुई दिनमै उठायो लगानी ! यस्तो छ कलेक्सन

‘धनपति’ले दुई दिनमै उठायो लगानी ! यस्तो छ कलेक्सन

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘धनपति’ले दुई दिनमै करोड माथिको व्यापार गरेको छ ।

नयाँ वर्ष पछी रिलिज भएका कुनै पनि सिनेमाले राम्रो व्यापार गर्न नसकीरहेको अवस्थामा ‘धनपति’ले दर्शक हलसम्म बटुल्न सफल भएको हो । निर्देशक दीपेन्द्र के खनालका अनुसार सिनेमाले शुक्रबार ४५ लाख र शनिबार ७५ लाखको व्यापार गर्दै करोड क्लबमा इन्ट्री गरेको छ ।

दुई दिनमा सिनेमाको ग्रस कलेक्सन १ करोड २० लाख पुगेको छ । अघिल्लो सिनेमा ‘पशुपति प्रसाद’को लोकप्रियताले गर्दा दीपेन्द्र र खगेन्द्रको ‘धनपति’ले पहिलो दिनमा नै वर्षकै उत्कृष्ट ब्यापार गर्यो । त्यसैमा सिनेमाको राम्रो प्रतिक्रियाले शनिबार हल शतप्रतिशत भरिन पुगेको छ ।

‘दर्शकको माउथ पब्लिसिटीले सिनेमाको व्यापारमा बढोत्तरी भैरहेको छ । आगामी दिनमा झन राम्रो व्यापार गर्ने आशा छ । दुई दिनमै सिनेमाको लगानी उठाउन सफल हुँदा खुसि लागेको छ ।’ निर्देशकले हर्षित बोलिको फोहोरा छुटाए !

१ करोड १० लाखको बजेटमा निर्मित सिनेमाले देश वाहिरबाट ६२ लाख कमाईसकेको छ । हिसाबमा ‘धनपति’को विश्वव्यापी कलेक्सन १ करोड ८२ लाख पुगीसकेको छ । यसअर्थमा सिनेमाले नेपाल प्रदर्शनको दुई दिनमा लगानी उठाउन सफल भएको हो  ।

सिनेमामा राजनीतिले एक व्यक्तिको जीवनमा पार्ने प्रभावलाई देखाइएको छ । सिनेमामा  खगेन्द्र लामिछाने, सुरक्षा पन्त , हरिहर शर्मा लगायतको अभिनय रहेको छ । ‘धनपति’ले प्रिमियरबाट उत्साहजनक प्रतिक्रिया बटुलेको थियो । सिनेमा देशभरका ५५ बढी सिनेमा हलमा प्रदर्शन भैरहेको छ ।