‘डिठ्ठा साब’को ‘चङ्गा’ जेठमा !

‘डिठ्ठा साब’को ‘चङ्गा’ जेठमा !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – किशोर भण्डारी ‘डिठ्ठा साब’ निर्देशित सिनेमा ‘चङ्गा’ले रिलिज मिति तय गरेको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार ‘चङ्गा’ आगामी जेठ २५ मा प्रदर्शन हुने भएको छ ।

सिनेमाको मोफसलमा वितरणको अधिकार एफडी कम्पनिले खरिद गरेको छ । मंगलबार मात्रै सिनेमा निर्माण टिम र एफडी कम्पनिबीच वितरण सम्झौता भयो । सिनेमाको तर्फबाट निर्देशक भण्डारी र एफडी कम्पनिको तर्फबाट अध्यक्ष नरेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस्तै सिनेमालाई उपत्यकामा वितरणको अधिकार करण श्रेष्ठको रिच ईन्टरटेन्मेन्टले लिएको छ । हाँस्य जानराको सिनेमाले पारिवारिक तथा सामाजिक कथा भन्छ । ‘चङ्गा’लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको सिनेमामा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार-चढावलाई जोडिएको छ ।

सिनेमामा बुद्धी तमाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना ‘बुनु मैंचा’, अंकित खड्का, लक्ष्मी बर्देवा, प्रेमबर्षा खड्का लगायत अभिनयमा छन् भने बाल कलाकार लकी भण्डारीको मुख्य भुमिका छ ।

सिनेमाको यतिबेला ग्लेज ईन्टरटेन्मेन्टमा पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । कन्टिन्यूयस मुभी मेकर्स प्रालीको ब्यानरमा बनेको ‘चङ्गा’मा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत, रविन आचार्यको छायाँकन छ । कार्यकारी निर्माता प्रकु पाण्डे रहेको सिनेमाकी निर्मात्री रेश्मा तिमल्सिना हुन् ।