बक्सअफिस सिस्टमको उद्घाटन

बक्सअफिस सिस्टमको उद्घाटन

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – लामो समयदेखि चर्चा र बहसको विषय बनेको बक्सअफिस अन्ततः नेपालमा लागू हुने भएको छ । मंगलवारबाट काठमाडौंको थापाथलीमा रहेको शिखर कम्प्लेक्स सुबिसु बिल्डिङमा नेपाली बक्सअफिस सिष्टमको ‘डाटा हब’ सञ्चालनमा आएको छ ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बक्सअफिसको औपचारिक रुपमा उद्घाटन गरे । कार्यक्रममा फागुन १ गतेबाट देशभर बक्सअफिस लागू गर्ने गरि चरणबद्ध रुपमा काम सुरु गरिएको चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले बताइन् ।

उनले भनिन्, ‘फागुन ७ गते सम्ममा काठमाडौं उपत्यकाभित्र ई-टिकेटिङ सिष्टम जडान भइसकेका मल्टिप्लेक्स हल र केन्द्रीय सर्भरबीच लिंक गर्न आवश्यक पर्ने ‘एपिआई’ उपलब्ध गराउन र ई-टिकेटिङ जडान गर्न आवश्यक पर्ने बोर्डले उपलब्ध गराएको सूची अनुसार हार्डवेयर तथा नेटवर्किङ सम्बन्धि सामाग्री जडान गर्न पत्रचार गर्ने छौं ।’ 

अध्यक्ष पौडेलले वर्ष २०७४ चैत १५ गते भित्र काठमाडौं उपत्यकामा सम्पूर्ण ई-टिकेटिङ जडान भइसकेका मल्टिप्लेक्स हलहरुले चलचित्र विकास बोर्ड वा सफ्टवेयर परामर्सदातालाई आवश्यक पर्ने ‘एपिआई’ उपलब्ध गराउन पनि निर्देशन दिएकी छिन् । उनले अब नेपालमा बक्सअफिस लागू हुन्छ वा हुँदैन भन्ने दोधारमा नरहन पनि आग्रह गरिन् ।

बक्सअफिसको ‘डाटा हब’ उद्घाटन कार्यक्रममा बोल्दै नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले हल सञ्चालकका कारण वर्षौदेखि नेपालमा बक्सअफिस लागू हुन नसकेको कुरा गलत रहेको बताए ।

उनले भने, ‘चलचित्र विकास बोर्डमा धेरै अध्यक्ष आउनुभयो तर उहाँहरुले बक्सअफिसलाई नारामा मात्र सिमित गर्नु भयो । हल सञ्चालकका कारण बक्सअफिस लागू नभएको होइन । हामीलाई बारम्बार ‘चोर’ भनिने प्रवृति अन्त्य गरियोस् भनेर मात्र विरोध गरेका हौं ।’ 

उनले अगाडि थपे, ‘हामी हल सञ्चालकहरु फिल्मको व्यापार पारदर्शी हुनुपर्छ भन्ने चाहन्छौं । हामीले बक्सअफिस लागू हुँदा विरोध गर्नु पर्ने कारण नै छैन ।’ उनले अब नेपालमा बक्सअफिस लागू भएरै छाड्ने दाबी गरे ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपालमा बक्सअफिस लागू हुँदा निर्माताले ठूलो राहत महशुस गर्ने बताए ।

यस्तै, सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाली फिल्म क्षेत्रलाई मर्यादित बनाउन बक्सअफिस अत्यन्त आवश्यक रहेको बताए । उनले भने, ‘यो क्षेत्रमा लाखौं व्यक्ति आश्रित छन् । उनीहरुको सम्मानका लागि पनि बक्सअफिस आवश्यक छ । नेपाली फिल्म क्षेत्रलाई उद्योगको रुपमा स्थापित गराउन पनि बक्सअफिस लागू हुनै पर्छ ।’

उनले अगाडि भने, ‘बक्सअफिस नहुँदा निर्मातादेखि सरकारसम्म ठगिइरहेका छन् ।अब कसले कर छल्छ ? निर्माताहरु अब मारमा पर्ने छैनन् । बक्सअफिस अब जसरी पनि लागू हुन्छ ।’ 

वर्ष २०७५ असार ३१ गतेसम्ममा काठमाडौं उपत्यका भित्र सञ्चालनमा रहेका सम्पूर्ण सिनेमा घरहरुमा ई-टिकेटिङ प्रणाली जडान गरि आर्थिक वर्ष २०७५/०७६ को साउन १ गते देखि चलचित्र विकास बोर्डबाट तयार गरिएको केन्द्रीय सर्भरसम्म लिंक गरि काठमाडौंमा पूर्ण रुपमा सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिष्टम (ई-टिकेटिङ) बक्स अफिस लागू गर्ने निर्णय भएको छ ।