‘ए मेरो हजुर २’को कमाई समाजसेवामा

‘ए मेरो हजुर २’को कमाई समाजसेवामा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नेपालमा सुपरहिट बनेको सिनेमा ‘ए मेरो हजुर २’ विगत केहि महिनादेखि विदेशका विभिन्न देशहरुमा प्रदर्शन भैरहेको छ ।

नेपालमा जस्तै विदेशमा पनि सफलताका साथ प्रदर्शन भैरहेको सिनेमाको कमाई समाजसेवामा खर्चिएको/खर्चिने भएको छ । अहिलेसम्म ‘ए मेरो हजुर २’को बेल्जियम प्रदर्शनबाट उठेको ९१ हजार रकम तराई क्षेत्रमा शितलहरबाट विरामी परेकालाई सहयोग गरिएको छ । उक्त रकम ‘क्याट बेल्जियम’ले प्रदान गरेको हो ।

त्यस्तै बेल्जियमको बुर्गे शहरमा गरिएको प्रदर्शनबाट उठेको ५० हजार रकम आयोजक संस्था ‘एभरेस्ट नेपाली समाज’ मार्फत गायिका जलजला परियारलाई सहयोग गरिने बताइएको छ । आगामी मार्च ४ मा अमेरिकाको भर्जिनियामा हुने ‘ए मेरो हजुर २’ सोजबाट उठेको २५ प्रतिशत रकम चितवनको अस्पतालमा ब्लड क्यान्सरबाट पिडित १० वर्षे बालक विवेक आचार्यलाई सहयोग गरिने निर्माण पक्षले बताएको छ ।

फेब्रुअरी अन्तिम तिर अमेरिकाको कोलोराडोमा हुने सोजबाट उठेको ५० हजार रकम मेकअप आर्टिस्ट इन्द्र लामालाई सहयोग गरिने भएको छ । उक्त रकम कोलोराडोका समाजसेवी तथा ‘ए मेरो हजुर २’ अमेरिका वितरक बाबुकाजी श्रेष्ठद्वारा प्रदान गरिनेछ ।

झरना थापाको डेब्यु निर्देशन ‘ए मेरो हजुर २’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित सिनेमामा हरिहर अधिकारीको कथा, सामिप्यराज तिमिल्सिनाको पटकथा र संजय लामाको छायाँकन छ ।