दर्शकमाँझ बडीगार्डसहित ‘ए मेरो हजुर २’ टिम, देशैभर हाउसफुल

दर्शकमाँझ बडीगार्डसहित ‘ए मेरो हजुर २’ टिम, देशैभर हाउसफुल

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री झरना थापाले निर्देशन गरेको सिनेमा ‘ए मेरो हजुर २’ले हलमा तहल्का पिटेको छ । पहिलो दिन उत्कृष्ट व्यापार गरेको सिनेमाका दर्शक शनिबार अझै बढेका छन् ।

मोफसलका वितरक केदार पराजुलीले दिएको जानकारी अनुसार पुर्व देखि पश्चिमसम्मका हलमा ‘ए मेरो हजुर २’ले बलिउड सिनेमालाई समेत पाखा लगाएको छ । पुर्वका धरान, विराटनगर, बिर्तामोड, हेटौडाका सम्पूर्ण हल हाउसफुल भएका छन् । त्यस्तै पश्चिमका चितवन, पोखरा, बुटवल, नेपालगंज, महेन्द्रनगर लगायतका स्टेसनमा पनि दर्शकको उच्च चाप रहेको वितरकले बताएका छन् ।

राजधानी बाहिरका मल्टीप्लेक्स सहित राजधानीका मल्टीप्लेक्समा शनिबारका शो सोल्ड आउट भैसकेका छन् । दर्शकको साथले उत्साहित भएको ‘ए मेरो हजुर २’ टिम बडीगार्ड सहित राजधानीका हलमा पुगेर पब्लिक रिभ्यु लिईरहेको छ । निर्देशक झरना थापा, कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतको टिम दिउँसोसम्म बालाजुको अष्टनारायण, गोंगबूको विएसआर मुभिजमा पुगेर दर्शक प्रतिक्रिया लियो । हेरका जति सबैले उत्कृष्ट सिनेमा हेर्न पाएको भन्दै खुसि साटे ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित सिनेमामा राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ ।

‘ए मेरो हजुर २’को कथा हरिहर अधिकारीले लेखेका हुन् । संजय लामाले खिचेको सिनेमाका पटकथाकार सामिप्यराज तिमेल्सिना हुन् । सिनेमाले अग्रिम हल संख्यामा बलिउडको अजय देवगन स्टारर ‘बादशाहो’लाई उछिनेको छ ।