१० वर्ष कैद पाएपछि फरार भएका गायक प्रकाश ओझा पक्राउ परे

१० वर्ष कैद पाएपछि फरार भएका गायक प्रकाश ओझा पक्राउ परे

The Cinema Times

तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको आरोपमा १० वर्षको कैद फैसला भएपछि फरार रहँदै आएका गायक एवम् कलाकार प्रकाश ओझा पक्राउ परेका छन्।।

ओझालाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो। ४३ वर्षीय ओझालाई आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशअनुसार कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारा पठाइएको व्यूरोले जनाएको छ।

सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउदै माघ ४ गते मानव बेचबिखन तथा ओसारपसारका दुई मुद्दामा ५–५ वर्षको सजाय सुनाएको थियो।

यस्तो थियो उनको अपराध

ओझा सर्वसाधरणमाझ गायकका रूपमा परिचित थिए। तर उनले २०५९ सालदेखि लगातार २ वर्षसम्म डर त्रास देखाई अनुचित प्रभावमा पारी पीडित तीन जना नाबालिकासँग अनैतिक सम्बन्ध राखेको प्रहरीले जनाएको छ।

त्यस्तै, पीडितले थाहा नपाउने गरी खिचेको अश्लील तस्वीर तथा भिडियो उनीहरुलाई देखाई सार्वजनिक गरिदिने धम्की दिई पटक–पटक यौन शोषण र अप्राकृतिक मैथुन गरेको पनि प्रहरीले जानकारी दिएको छ।

सर्वोच्च अदालतले ओझाले खिचेका ती फोटोहरु वेबसाइटमा समेत राखी बेचबिखन गरी पैसा कमाउने उद्देश्य राखेको भनी ठहर गर्दै पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाएर उनलाई दुईवटा मानव बेचबिखन तथा ओसारपसार मुद्दाहरुमा कुल १० वर्ष कैद ठहर गरेको थियो।

केही वर्षअघि प्रकाश ओझासँगको अश्लिल भिडियोका कारण नायिका जेसिका खड्काले आत्महत्या गरेकी थिइन्। २०५८/ ५९ तिर गायक ओझाको “भत्काइदिन्छु बाख्राको खोर पनि” बोलको गीतका लागि चर्चित थिए।