कानुन व्यवसायी भन्छन्,‘रुद्रप्रिया’साउथ एसियाकै लागि सान्दर्भिक’

कानुन व्यवसायी भन्छन्,‘रुद्रप्रिया’साउथ एसियाकै लागि सान्दर्भिक’

The Cinema Times

कात्तिक २ गते लक्ष्मीपूजाको दिनबाट देशव्यापी प्रदर्शनमा उत्रिन लागेको रेखा थापा र आर्यन सिग्देल अभिनित फिल्म ‘रुद्रप्रिया’ यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक हो । ८ वर्षपछि पर्दामा फर्किएको रेखा र आर्यनको जोडी भएका कारण पनि रुद्रप्रिया दर्शकमाझ प्रतिक्षीत बनेको छ ।

सोमवार आयोजना गरिएको प्रियिमरबाट उत्कृष्ट तारिफ पाएको फिल्मले एक महिलाको जीवनमा एसिड आक्रमणपछि आउने उचार-चढावलाई देखाएको  छ । मंगलवार आफ्नो ३० लाख बढी फलोअर्स रहेको फेसबुक लाइक पेजमा रेखाले दुई कानुन व्यवसायिहरुसँग फिल्मको विषयमा बहस गरेकी छन् ।

अभिवक्ताद्वय डिल्लीराज भट्ट र स्वागत नेपालले ‘रुद्रप्रिया’ले समाजमा घटिरहेको घट्नालाई रोचक तरिकाले प्रस्तुत गरेको बताए । फेसबुक लाइभमा बोल्दै अभिवक्ता डिल्लीराज भट्टले भने, ‘फिल्म ‘रुद्रप्रिया’ले उठाएको विषय नेपालका लागि मात्र होइन साउथ एसियाकै लागि सान्दर्भिक छ । ‘रुद्रप्रिया’ले समाजमा सकारात्मक सन्देश प्रवाह गर्छ भन्ने मलाई लाग्छ । गहन विषयलाई ‘रुद्रप्रिया’मा यूनिक तरिकाबाट प्रस्तुत गरिएको छ । सम्पूर्ण परिवारले एकपटक हेर्नु पर्ने फिल्म बनेको छ ‘रुद्रप्रिया’ ।’

अर्का अभिवक्ता स्वागत नेपालले ‘रुद्रप्रिया’ भुत बिनाको हरर फिल्म रहेको बताए । उनले अगाडि भने, ‘यो वास्तविक फिल्मभित्र हरर फिल्म हेरे जस्तो महशुस हुन्छ । दर्शकको मनोविज्ञानलाई फिल्मले राम्रो समातेको छ । दर्शक चाहन्छन् कि भिलेनलाई मार्नु हुन्न तड्पाएर सजाय दिनुपर्छ । ‘रुद्रप्रिया’ले दर्शकको इच्छा पनि पुरा गरेको छ ।’ उनले दोषीलाई सजाय कसरि दिने भन्ने सिक्नेका लागि ‘रुद्रप्रिया’ हेर्न आग्रह गरे ।
अभिवक्ताहरुसँगको कुराकानीको क्रममा नायिका रेखा थापाले शारीरिक मात्र होइन अब मानसिक रुपमा पनि महिलाहरु अगाडि बढ्नु पर्छ भन्ने सोचका साथ ‘रुद्रप्रिया’ निर्माण गरेका बताइन् । यस्तै, नायक आर्यन सिग्देलले भन्छन्, ‘लभस्टोरी, ड्रामा र रिभेन्ज गरि तीन जनरामा ‘रुद्रप्रिया’ निर्माण भएको छ । यो कमर्सियल फिल्म हो तर वास्तविकतासँग निकै नजिक छ ।’

फिल्म ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् ।  ‘रुद्रप्रिया’लाई  सरस्वती थापाले निर्माण गरेकी हुन् । फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् ।