हलमा अनमोलको स्टारडम, शनिबार देशैभर ‘कृ’ हाउसफुल

हलमा अनमोलको स्टारडम, शनिबार देशैभर ‘कृ’ हाउसफुल

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – लगातार ४ सिनेमा हिट दिएका अभिनेता अनमोल केसीको स्टारडम पुन: हलमा देखिएको छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘कृ’ले शनिबार देशैभर आक्रामक दर्शक बटुल्न सफल भएको छ । पहिलो दिन देशैभरि ७५ प्रतिशत अकुपेन्सी रहेको ‘कृ’को दोस्रो दिन करिब शतप्रतिशत छ ।राजधानीको अष्टनारायण हलका सबै पर्दा ‘कृ’ दर्शकले हाउसफुल हुँदा विदेशी सिनेमाको शोज कटौती भएको छ । उक्त हलमा ‘कृ’लाई ३ र विदेशी सिनेमालाई १ पर्दा बाँडीएको थियो । ‘कृ’ दर्शकको ओभरफ्लो भएपछी विदेशी सिनेमालाई रिप्लेस गरिएको हो ।

त्यस्तै गोपीकृष्ण मुभिजका अधिकाँस ठुला हल शनिबार हाउसफुल भएका छन् । भने मल्टिप्लेक्सका सबै सोज सोल्डआउट भैसकेका छन् ।  चितवन र पोखराको क्युएफएक्स चेनमा दिवा र रात्री सोज पनि  सोल्डआउट भैसकेका छन् । सिनेमाको दुई दिने कलेक्सन शनिबार बेलुका मात्र सार्वजनिक हुनेछ ।

हलमा अनमोलको यस्तो क्रेज

नायक अनमोल केसी र नायिका अदिती वुढाथोकी शनिबार काठमाण्डौका २ हलमा पुगे । दिउँसो सवा १ बजे काठमाण्डौको गोपिकृष्ण हलमा पुगेका अनमोल र अदितीलाई ६ जना बडिगार्डको सुरक्षा दिइएको थियो । अगाडि प्रहरीको भ्यान र पछाडि ६ जना बडिगार्डको सुरक्षामा हल पुगेका अनमोल र अदितीलाई दर्शकको भिडबाट निकाल्न हम्मेहम्मे परेको थियो । अनमोललाई देखेर धेरै यूवती रोएका थिए भने कतिपयले अटोग्राफ मागे । गाडीबाट हलसम्म पुग्न अनमोललाई लामो समय लाग्यो । दर्शक गाडीमै चढेपछि अनमोल बाहिर निस्किएर सबैलाई अभिभावदन गरे र धन्यबाद भनेका थिए ।

दर्शकको भीडमा अनमोलले ‘आउनुहोस् हामी सबै मिलेर राष्ट्रियताको बिषयमा ऐक्यवद्धता जनाउ’ भन्दै उनले राष्ट्रिय गान गाएका थिए । अनमोलले राष्ट्रिय गान गाउँदा उनीसँगै हलमा पुगेका दर्शकले पनि गाएका थिए । आफू र नेपाली चलचित्रलाई माया गरिदिएको भन्दै अनमोलले सबै फ्यानलाई धन्यवाद दिए । उनले, आफ्नो कामका कारण दर्शकले आफूलाई यति धेरै माया गरेको हुनसक्ने बताए ।

नायिका अदिती वुढाथोकीले दर्शकको यस्तो माया पाउँदा खुशी लागेको बताइन् ।

 

सुरेन्द्र पौडेल निर्देशित सिनेमामा अनमोलका अलावा अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । सिनेमामा भुवन केसी र सुवास गिरीको लगानी छ ।सिनेमामा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष पाण्डेको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद छ ।

तस्विर: मिलन ढुंगाना